अन्वेषी’ बर्ष पुस्तक १ सयभन्दा बढी महिला मानव अधिकारववादी संघसंस्थाहरू, सामुदायिक संघ संस्थाहरू, महिलावादी लेखकहरू, महिला मानब अधिकारवादीहरू, संचारकर्मीहरूको सामुहिक प्रयास र सहकार्यबाट तयार गरिएको महिला माथि भएका भेदभाव, हिंसा र असमानताको बारेमा विश्लेषणात्मक पुस्तक हो । यो नेपालका महिलामाथि वर्षभरि भएका हिंसाका घटनाहरू संकलित, अंकित एवं विश्लेषण सहितको एक महत्वपूर्ण पुस्तक हो । सर्भेक्षणमा आधारित यो पुस्तक ओरेक नेपालले सन् २००८ बाट वर्षेनी प्रकाशन गर्दै आइरहेको छ । महिलामाथि हुने हिंसाका घटनाहरूको नक्साङ्कन गर्ने, सरोकारवाला एवं सम्बन्धित जिम्मेवार निकायसमक्ष महिला हिंसाका वास्तविकता प्रस्तुत गरी आवश्यक कदम चाल्न दबाब सृजना गर्ने उद्देश्यले अन्वेषी प्रकाशन एवं वितरण कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिँदै आइएको छ । अन्वेषीले विभिन्न भू–भागमा बसोबास गर्ने भिन्न–भिन्न सामाजिक समूह र समुदायका महिलाहरूमाथि भइरहेको हिंसा, तिनको स्वरुप र त्यसका प्रभावहरूबारे जानकारी दिन्छ ।
घटना संकलन अवधि र क्षेत्र
पुस्तकमा समावेश गरिएका तथ्याङ्क श्रावण २०७५ देखि असार २०७६ सम्मको समय अवधिमा संकलन गरिएको हो । यसभित्र महिलामाथि भएका १ हजार ३ सय १९ वटा हिंसाका घटनाहरू समाविष्ट छन् । पुस्तकमा तथ्याङ्कहरूको विश्लेषणसमेत प्रस्तुत गरिएको छ । ओरेक नेपालले संकलन गरेको ताजा तथ्याङ्कको अलावा यसभित्र विभिन्न राष्ट्रिय स्तरका पत्रपत्रिकामा प्रकाशित घटनाहरू समेतलाई समेटिएको छ । राष्ट्रिय स्तरमा प्रकाशित पत्रपत्रिकाहरूबाट जम्मा ५ सय ९० वटा घटनाहरू संकलन गरिएको छ ।